मध्यविन्दु/काठमाडौँ– काठमाडौँ सुकेधारा स्थित वाग्मती बोर्डिङ कलेजले ५ वर्ष अघि आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीमध्ये कति विद्यार्थी विदेशीन चान्छन भन्ने विषयमा अनौपचारिक सर्भे नै गर्यो । प्लस टु मा अध्ययनरत ५ सय ३६ जना विद्यार्थीहरुसँग कलेजले प्रतिक्रिया लियो । जसमा ५ सय ३५ जना विद्यार्थीले आफु विदेशीने बताएका थिए । बाँकी एक जनाले नेपालमा बस्ने बताएका थिए । ति मध्ये अर्का एक जनाले यदि भिजा नलागेमा हवाईजहाजमा डोरी लगाएर भए पनि विदेशीने प्रतिक्रिया दिएको कलेजका संस्थापक अध्यक्ष तथा प्रिन्सीपल सुरेन्द्र सिटौलाले बताए ।
कलेज सञ्चालनको २४ वर्षे अनुभव सुनाउँदै सिटौलाले भने, ‘अहिले भर्खर कलेज पढ्दै गरेका त्यसमा पनि प्लस टु गर्दै गरेका विद्यार्थीमा स्वदेशमै प्रगती गर्नै सकिन्न भन्ने मनोविज्ञान विकास भएको छ ।’ नेपालमा संभावना नभएर होइन, नदेखेर विद्यार्थीहरुमा एउटा लहड नै चल्यो, यो पुस्ता हल्लै हल्लामा कुदीरहेको छ, उनले भने, ‘नेपालको शिक्षा अन्तर्राष्टिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने नभएकोले कतिपय विद्यार्थी भविष्य खोज्दै पढ्नका लागि पनि विदेशीनुपर्ने बाध्यता छ ।’
त्यस्तै विदेशीने होडमा छन्, काठमाडौँका कमल पौडेल पनि । अहिले उनी कक्षा १२ मा म्यानेजमेन्ट विषय मेजर राखेर पढिरहेका छन् । कमलको ‘प्लस टु’ को पढाई सकिनै लाग्यो । परिक्षा आउन करिब ३ महिना बाँकी छँदै उनमा पढ्ने जाँगर हराउन थालिसकेको छ ।
१९ वर्षका कमल पढाईलाई निरन्तरता दिन भन्दा पनि विदेशिने सोचमा छन् । उनी भन्छन, ‘अब आउने १२ को परिक्षा सक्छु, अनि वाहिरको लागि ट्राई गर्छु सायद । नेपालमा केहि भविष्य नै देख्दिन म त ।’ ‘प्लस टु’ को परिक्षा सकिने वित्तिकै आयल्स गरेर अष्टे«लिया वा क्यानडा जाने सोच रहेको उनी बताउँछन् ।
तर उनका बुवाआमा भने छोरो विदेशीने कुरा सुन्नै सक्दैनन् । उनको परिवार कमलको विदेशीने कुरामा सहमत छैनन् । उनकी आमा विमला पौडेल भन्छीन्, भएको एउटा छोरो विदेश गएपछि हामी कसरी बस्नु ? नजा भनेको मान्दैन् ।’
कमल मात्रै होइन उनी जस्तै कलेज पढ्दै गरेका लाखौँ विद्यार्थीहरु वर्षेनी विदेशीरहेका छन् । उनीहरुमा स्वदेशमा केहि गर्छु भन्ने भन्दा विदेशमा गएर धन कमाउँछु भन्ने सोच हावी भएको देखिन्छ । अझ बुझेर भन्दा पनि अरु गएको देखेर र सुनेकै भरमा ‘प्लस टु’ पढ्दै गरेका विद्यार्थीहरुमा विदेश जाने कुरा हुटहुटी नै चल्ने गरेको पाईन्छ ।
प्राय विद्यार्थीहरुमा विदेश जाने टे«ण्ड नै बसेको कानुन व्यवसायि तथा पुष्पलाल कलेज चाबहिलका प्रिन्सीपल छन्दप्रसाद आचार्यले बताए । उनले भने, ‘नेपालमा जिवनउपयोगी शिक्षा नहुनु र शैक्षिक योग्यता अनुसारको अवसर र रोजगारी नपाउने कारणले करिब ४० प्रतिशत विद्यार्थी कलेज पढ्दै गर्दा विदेशीन्छन्, कतिपय बाध्यात्मक परिस्थीतीका कारण र कतिपय गुणस्तरीय शिक्षाका लागि जाने गरेको पाइन्छ ।’
यसरी युवाहरु विदेशीदा रेमिट्यान्स त बढ्दै गएको छ तर आफ्ना देशका दक्ष युवा शक्ति पलायन हुँदा जनशक्ति गुमाउँदै छ राज्यले । यदि राज्यले आफ्नै देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना गरि विदेशीने युवाहरुलाई रोक्न सके बुढा बुवाआमाले सन्तानबाट टाढिनुपर्ने थिएन भने दक्ष जनशक्ति पलायनको बाध्यात्मक अवस्था पनि हुने थिएन । राज्यले विदेशीएका जनशक्तिलाई स्वदेश मै सरल र सहज ढंगले गरिखाने वातावरण सिर्जना गर्न नसके नेपाल अबका केहि वर्ष पछि बृद्धाश्रममा परिणत हुन बेर लाग्ने छैन् ।