काठमाडौं – स्थगित परीक्षा सञ्चालनका लागि विद्यार्थीको विवरण संकलन गर्न त्रिभुवन विश्वविद्यालयले तोकेको समय सीमा मंगलबार सकिएको छ ।
आफू रहेको स्थान तथा पाएक पर्ने परीक्षा केन्द्रका बारेमा त्रिवि अन्तर्गत नजिकका शिक्षालयमा जानकारी गराउन विद्यार्थीलाई आजसम्मको समय दिइएको थियो । विद्यार्थीले उपलब्ध गराएको विवरणका आधारमा आगामी मंसिर अन्तिम सातादेखि परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
काठमाडौं उपत्यकाभित्रका शिक्षालयका हकमा विद्यार्थीको परीक्षा केन्द्र तोकिने र उपत्यका बाहिरका स्थानमा विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गरिने त्रिविको तयारी छ ।
कोरोना संक्रमण जोखिमबाट बच्न आवश्यक भौतिक दूरी कायम गरी पूरै पूर्णाङको परीक्षा सञ्चालन गरिने त्रिविले जनाएको छ । सबैभन्दा अन्तिम वर्ष वा अन्तिम सेमेष्टरको परीक्षा पहिले सुरु गरेर अन्य सेमेष्टरलाई क्रमबद्ध रुपमा सञ्चालन गरिने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।