(काठमाडौं) – विद्यालयको बरण्डा भत्किएर लाग्दा काठमाडौंको धर्मस्थलस्थित एक विद्यालयका ४२ जना विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कूलको बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । बरण्डा भकिएर लाग्दा कतिपय विद्यार्थीको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ । धेरै विद्यार्थीको अनुहारमा चोट लागेको छ ।
विद्यालयमा खेलकुद गतिविधि भइरहेका बेला बरण्डामा धेरै विद्यार्थीको भार थाम्न नसकेर भाँचिएर दुर्घटना भएको प्रहरी निरीक्षक बाल नरसिंह राणाले जानकारी दिए ।
विद्यार्थीहरुको उपचार चलिरहेको छ । उनीहरु मध्ये एकको अवस्था निकै गम्भीर छ । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।