विद्युत् प्राधिकरणको बोर्ड बैठकमा कुलमानको ‘नोट अफ डिसेन्ट’

136

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

पहिलो पटक प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बाेर्डका सदस्य सचिव घिसिङले नोट अफ डिसेन्ट लेखेका हुन् । घिसिङले लेखेको ‘नोट अफ डिसेन्ट’लाई  प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् ।

डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता विवादमा टाइम अफ डे (टीओडी) मिटरको अध्ययन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए ।

समितिको तलबभत्ता, कार्यालय सञ्चालन सामग्रीदेखि सवारीसाधनसम्म प्राधिकरणले नै दिनुपर्ने माग ऊर्जामन्त्री खड्काको थियो । त्यसकालागि मन्त्रालयले समितिलाई आवश्यक तथ्यांकदेखि सेवासुविधासमेत उपलब्ध गराउन भन्दै प्राधिकरणलाई पत्र काटेको छ ।

मन्त्रालयले पत्र काट्दासमेत केही जवाफ नआएपछि समितिका सदस्यलाई सेवासुविधादेखि तथ्यांक उपलब्ध गराउने विषयले गत पुस ४ मा बसेको प्राधिकरणको बोर्ड बैठकमा प्रवेश पाएको थियो । उक्त समितिमा छलफल भए पनि माइन्युट हुन बाँकी थियो । मंगलबार समितिलाई सेवासुविधा दिने निर्णयको माइन्युटमा हस्ताक्षर भएको थियो ।

त्यसरी भएको निर्णयमा घिसिङले ‘नोट अफ डिसेन्ट’ लेखेको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले बताए । घिसिङको फरकमतमा सदस्यहरू रतन ऐर र भरत आचार्यले समर्थन जनाएको ती सदस्यले जानकारी दिए ।

समाचार वर्गहरू