विपी राजमार्ग दशैंअघि नखुल्ने

68
फाइल फोटो

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैंअघि नखुल्ने बताएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वी तराईलाई जोड्ने छोटो दूरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने प्रष्ट पारेका हुन् ।

मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै उनले दशैं अगाडि विपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धारमात्र गरिनेछ । अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाई यातायात सुचारु गरिएको छ । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको मन्त्रालयको भनाइ छ ।

प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको सचिव शर्माले बताए । उनले भने, ‘क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ ।’

समाचार वर्गहरू