काठमाडौं – प्रहरीले विभिन्न ठाउँबाट १९ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
बाग्लुङ ताराखोला गाउँपालिका-५ सिपस्थित जंगलमा लुकाएर राखेको अवस्थामा ८ थान एकनाले भरुवा बन्दुक र सोही गाउँपालिका-२ हर्पुखोला टोलको जंगलबाट ९ थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
बाग्लुङ प्रहरीका अनुसार बिहीबार बिहान प्रहरी टोलीले हतियार बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गलकोटबाट खटिएको प्रहरीले भरुवा बन्दुक फेला पारेको थियो । ती बन्दुक जंगलमा किन र कसले राखेको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोट, मेघाङ गाउँपालिका-१ बसुन्चेतस्थित नगबु धाबु सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले हतियार बरामद गरेको हो ।