भवनाथ आचार्य – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी निर्णय भएको छ । १४ औँ महाधिवेशनको संशोधित कार्यतालिका समेत कोरोना महामारीका कारण विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञाले गर्दा प्रभावित भइसकेको अवस्थामा घोषित मितिमा महाधिवेशन हुनेमा आशंका देखिएको छ
नियमित समयमा महाधिवेशन हुन नसक्दा पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थपिएको हो । थपिएको समयभित्र पनि महाधिवेशन हुन सकेन भने बढीमा अर्को ६ महिनासम्म म्याद थप्न सकिने संबैधानिक व्यवस्था छ । कोरोना महामारीको अनिश्चित अवतरणको वर्तमान अवस्थामा संस्थागत रुपमा काँग्रेस अझै पनि महाधिवेशनको तयारीमा होमिन नसके पनी सो पार्टीका नेताहरु व्यक्तिगत रुपमा महाधिवेशन केन्द्रित गुटगत प्रचारवाजीमा उत्रिन थालिसकेका छन् ।
नेपाली काँग्रेसमा मुल नेतृत्वका लागि अहिले पनी ‘विरासत’ कै बोलवाला बढ्दै गएको प्रष्ट देखिन्छ । पार्टीका संस्थापक नेतादेखि लिएर पञ्चायतकालको प्रतिकुलताका बाबजुद पनी पार्टीको संगठनमा प्रभाव जमाएका केहि नेताका वंशज नै अहिले सभापतिको दावेदारका रुपमा अग्रपंक्त्तीमा देखिन्छन् ।
नेपालि कांग्रेसका महामन्त्री डा। शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्वय डा। शेखर कोइराला, सुजाता कोइराला लगायतले पार्टी सभापति पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन्। यी सबै ‘वंशवाद’सँग जोडिएका नाम हुन् । पार्टीको पहिलो पुस्तामा यिनका पितापुर्खाको विरासतका कारण काँग्रेसको राजनीतिमा यिनले अरुको तुलनामा बढी अवसर र मौका पाएको प्रष्ट छ ।
विश्वेश्वरप्रसाद कोइरालापुत्र डा. शशांक कोइराला, महेन्द्रनारायण निधिपुत्र विमलेन्द्र निधि, गणेशमान सिंहपुत्र प्रकाशमान सिंह, गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला राजनीतिक विरासतले ओतप्रोत पात्र हुन् । यद्यपि यिनीहरु राजनीतिक रुपमा क्षमता नभएका व्यक्ति भने होइनन् । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधिलगायतले आफ्नो फाइदाका लागि नभई देश र जनताको फाइदाका लागि राजनीति गरेको भएपनी अहिले सुख–सुविधा र सत्ताका लागि राजनीति गर्नेहरुको बाहुल्यता कांग्रेसमा प्रष्ट देखिन्छ ।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुने दावी कतिपय युवा भनिएका नेताहरुले गरिरहेका छन् । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पुस्तालाई १४ औँ महाधिवेशनबाट स–सम्मान बिदा गर्ने युवा नेताहरुले तयारी गरेपनि यहि अधिबेशनबाट त्यो सम्भावना न्युन देखिन्छ । यसपटक दोश्रो पुस्ता भनिएका नेता आइहालेपनी आउने दोस्रो पुस्ताको नेतृत्व ‘विरासत’ अन्तर्गत नै हुने सम्भावना रहेको देखिन्छ । अहिले नेतृत्वका लागि चर्चामा आएका दोस्रो पुस्ताका नेताहरुमा विरासतभित्रकै नेताहरुको नाम अगाडी चर्चामा छ ।
विरासत भन्नेबित्तिकै नराम्रो नै हो भन्ने त होइन तथापी विरासतकै आधारमा नेतृत्वको दाबिगर्नु अथवा परिवर्तनका लागि विरासतलाईनै माध्यम बनाउन खोज्नु कती न्यायोचित हो भन्ने चाहिँ यक्ष प्रश्न हो । हुन त नेपालमा मात्र नभई दक्षिण एसियाकै राजनीतिमा विरासत झाङ्गिएको प्रष्ट देख्न सकिन्छ । भारत, पाकिस्तान, बंगलादेश जस्ता देशमा पनि राजनीतिक विरासतका अनेक उदाहरणहरु हामीसामु छन् । समग्र दक्षिण एसियाली राजनीतिमा सामन्तवाद, नातावाद, कृपावाद, जातिवाद, ब्रिफसेशवाद हावी भइरहेको वर्तमान अवस्थामा नेपाल अछुतो कसरी रहन सक्ला र ?
कांग्रेस पार्टीमा विरासतकै बोलवालाका कारण केहि चर्चित तथा कार्यकर्ताले रुचाएका र मतदाताले पत्याएका केहि अनुहारहरु अवसरबाट वञ्चित भएको उदाहरण प्रसस्तै देखिन्छन् । विरासतमात्र होइन, कोही खास नेताको नजिक भएका कारण वा कोही खास नेताको नाता परेका कारण आफू सरहकाले राजनीतिक अवसर पाए तर आफूले पाइएन भन्ने नेताहरुको पनी कांग्रेस वृत्तमा कमी देखिँदैन ।
विरासतका रुपमा चर्चामा आएका डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये डा. कोइरालाले एक कार्यकाल महामन्त्री पद सम्हालेका छन् । यस्तै निधिले उपसभापति, सिंहले अघिल्लो कार्यकाल नै महामन्त्री पद सम्हालिसकेका छन् । महामन्त्रीका रुपमा डा. कोइरालाको भूमिका प्रभावकारी देखिएन । संगठनलाई पुनर्जीवन दिने सन्दर्भमा उनको भूमिका निष्कृयजस्तै रह्यो । संसदसमेत रहेका उनी सरकारलाई संसदमै पनि खबरदारी गर्न चुकेका देखिए । जबकि प्रदीप गिरी, डा. मिनेन्द्र रिजाल, गगन थापा लगायतका केही नेताले सरकारलाई संसदमा विभिन्न मुद्दामा घेरिरहँदा समेत उनि मुक दर्शक भएको देखिन्थ्यो ।
अर्कोतिर विमेलन्द्र निधि गत निर्वाचनमै असफल साबित भइसकेका व्यक्ति हुन् । नेपाली काँग्रेसको भोट बैंक मानिएको तराई क्षेत्रमा पार्टीले राम्रो नतिजा ल्याउन नसक्नुमा उनकै अदुरदर्शिता, नेतृत्व क्षमताको अभाव मुख्य कारण रहेको र गुटबन्दीलाई नै प्रश्रय दिएका कारण उनी आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएको प्रदेश नंं २ का कांग्रेस नेताकार्यकर्ताको गुनासो छ । त्यस्तै प्रकाशमान सिंहले एक कार्यकाल महामन्त्री पद सम्हाले पनि काठमाडौँ उपत्यकाको दायराबाट आफूलाई बाहिर निकाल्न नसकेको आरोप लगाउनेहरु प्रशस्त छन् ।