(काठमाडौं) – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३ औं संस्करणको विशेष कार्यक्रमकाबीच मंगलबार समापन हुँदैछ । सोमबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले समापन समारोहलाई अहिलेसम्मकै ब्यवस्थित गरिने र त्यसको तयारी पूरा भएको जानकारी दिए ।
सदस्यसचिव सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म ब्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई थप ब्यवस्थित र भब्य बनाईने बताए । मंगलबार हुने नेपाल र भुटानबीच अपरान्ह ३ बजे फाइनल पछि सागको समापन समारोह हुने राखेपले जनाएको छ । त्यसअघि मंगलबार १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटवल हुनेछ ।
फुटबल प्रतियोगिताको फाइनल लगत्तै समापन समारोह सुरु हुने राखेपले जनाएको छ । १३ औं सागको समापन समारोहमा पदकधारी खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने जनाएको छ । प्रतियोगिता सुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेकोे राखेपले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न सकेको थिएन ।
राखेपले समापन समारोहमा सागमा नेपालको तर्फबाट पदक विजेता खेलाडीलाई विशेष प्याकेज घोषणा हुने बताएको हो । राखेपले सागको पुरस्कार राशीमा भारी वृद्वि गर्ने तयारी गरेको छ । जसको औपचारिक घोषणा भोलि समापन समारोहमा हुनेछ । डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नेछन् । त्यसको दोश्रो दिन बुधबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुँदै खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्नेछ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव सिलबालले सम्बोधन गर्ने कार्यक्रम छ ।
समापन समारोहकै अवसरमा १४ औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ । त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्धन गर्ने गरी विशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिव सिलवालले जानकारी दिए । समापनका दिन कार्यक्रम स्थलका प्याराफिटलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी व्यवस्थित गरिनेछ ।
त्यहाँ भीभीआईपी, भीआईपी, पत्रकार, पदक बिजेता खेलाडी, विदेशी, कर्मचारी लगायतलाई भिन्दाभिन्दै क्षेत्र बनाएर बस्ने ब्यवस्था हुनेछ । समापनका दिन सुरक्षा र पासमा पनि कडाई गरिने राखेपले जनाएको छ । सञ्चारकर्मीहरुले यसअघि प्रयोग गरिरहेका खेल प्रवेश परिचय पत्रसँगै आ-आफ्ना सञ्चार माध्ययमका परिचय पत्र पनि बोक्नुपर्ने ब्यवस्था गरिएको राखेपले जनाएको छ ।