विश्वकप छनोट : नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

14

(काठमाडौं) – कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको पहिलो घरेलु खेलको रुपमा रहेको कुवेतसँगको खेल भुटानको थिम्पुमा हुनेछ ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । नेपाल र कुवेतबीचको खेल एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण हुनेछ । यस्तै, भुटान फुटबल फेडेरेसनले माइकुजु टिभीबाट पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।

नेपालको दशरथ रंगशाला पुनर्निर्माण समयमा सम्पन्न नभएका कारण नेपालमैं हुनुपर्ने फिफा विश्वकप–२०२२ र एसियन च्याम्पियनसिप २०२३ अन्तर्गतको पहिलो होम खेल यहाँ हुन सकेन । नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतले न्युट्रल भेन्यु भुटानमा खेल्न लागेको हो ।

पहिलो चरणमा एक खेलमा जित हात पारेको नेपाल दोस्रो चरणको पहिलो खेलबाटै अंक जोड्ने लक्ष्यमा रहेको छ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि कुवेतविरुद्ध खेल्नका लागि तयार रहेको बताएका छन् । ४ खेलमा कुवेत ७ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको अष्ट्रेलियाको १२ अंक छ । तेस्रो स्थानको जोर्डनको पनि ७ अंक, चौंथो स्थानको नेपालको ३ र पुछारको चाइनिज ताइपे अंक बिहीन छ ।

यहि बीचमा नेपाली टोलीको चार खेलाडीले भुटान यात्रा तय गर्न पाएनन् । भुटान प्रस्थान गर्नु अघिल्लो राति नाइट क्लबमा गएको कारण देखाउँदै एन्फाले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशीलाई टीमबाट बर्खास्त गरेको थियो । २३ सदस्य मध्ये ४ खेलाडीको विकल्पमा सुवास गुरुङलाई थप्दै २० सदस्यीय फुटबल टोली भुटान प्रस्थान गरेको थियो ।

विमलको स्थान अभिषेक रिजाल, नवयुग श्रेष्ठ र भरत खवासमध्ये एकले लिने छन् । मिडफिल्डरमा भने सुनिल बल, विक्रम लामा, रवि पासवान, मिक्चेन तामाङ, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ र सुवास गुरुङ रहेका छन् । डिफेन्डरमा भने अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, सरोज दाहाल, अजित भण्डारी र रञ्जित धिमाल रहँदा गोलकिपरमा कप्तान किरण चेम्जोङसँगै विकेश कुथु र विशाल श्रेष्ठ छन् ।

समाचार वर्गहरू