विश्वकप फुटबलको छनोटमा नेपाल जोर्डनसँग ३ – ० ले पराजित

12

काठमाडौं – विश्वकप फुटबलका लागि भएको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको हो ।

मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३ – ० गोल अन्तरले पराजित भएको हो । जोर्डनको घरेलु मैदानमा भएको खेलमा फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक एक गोल गरे ।

खेलको पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । अम्मान अन्तराष्ट्रिय रंगशालामा खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।
नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले सहजै गोल गरे ।

यस्तै, खेलको ८७ औं मिनेटमा अहमेदले चिप, ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३ – ० को सहज जित दिलाए । नेपाललाई हराएसँगै छनोटको समूह ’बी’ को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ ।

छनोटमा तेस्रो हार ब्यहोरेको नेपालले भने ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

समाचार वर्गहरू