विश्वकप लिग–२ : नामिबियाविरुद्ध नेपालको दुई विकेटको शानदार जित

9

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारबाट सुरु शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ। कुशल भुर्तेलले शतक प्रहार गरेपछि नेपालले त्रिदेसीय शृंखलाको पहिलो खेलमा नामिबियामाथि दुई विकेटको जित हात पारेको हो।

लिग–२ मा नेपालले नामिबियालाई पहिलो पटक हराएको हो। यसअघिका चार भिडन्तमध्ये तीनमा नेपाल पराजित भएको थियो भने अर्को एक खेल रद्द भएको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेको नामिबियाले ५० ओभरमा २८५ रनको योगफल तयार पारेको थियो। कुशलकाे शतकपछि नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको थियो।

४८ औँ ओभरसम्म टिकेका कुशलले ११३ बलमा ११५ रन जोडे। अहिलेसम्मकै सर्वाधिक ठूलो लक्ष्य पछ्याएको नेपालका लागि कुहल र कप्तान रोहित पौडेलले १२० रनको साझेदारी गरेका थिए। रोहित ७६ बलमा ७२ रन बनाएर आउट भए।

कुशलसँग ओपनिङ गरेका आशिफ शेख शून्यमा पभेलियन फर्कदा घरेलु टिम अप्ठ्यारोमा पर्ने संकेत देखा परेका थियो। तीन नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले कुशललाई साथ दिएपछि नेपालले लयमा फर्कने देखायो। यी दुई मिलेर दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए।

मध्यक्रमका कुशल मल्ल (६) र दीपेन्द्र सिंह ऐरी (७) सस्तैमा समेटिए पनि सन्दीप जोरा र कुशलबीचको साझेदारीले नेपाललाई जितनजिक पु¥याएको थियो। २४ बलमा २८ जोडेका सन्दीप जोराले कुशलसँग मिलेर ४९ रनको साझेदारी गरे।

सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गरेपछि नेपालले १४ बल बाँकी छँदै जित पक्का गरेको थियो। उनी जस्तै अविजित रहेका करण केसीले १२ बलमा २० रन जोडेका थिए।

बलिङतर्फ नेपालका करणले पाँच विकेट लिए भने सन्दीप लामिछानेको नाममा तीन विकेट रह्यो। त्यसैगरी सोमपाल कुशलले एक–एक विकेट हात पारे।

लिग–२ मा तीन हारको सिलसिलालाई रोकेसँगै नेपालको २० अंक पुग्यो। २५ खेल खेलेको नेपाल सात टिमसम्मिलित लिग–२ को छैटौँ स्थानमा यथावत छ। तेस्रो स्थानमा रहेको नामिबियाले भने ३१ खेलबाट ३७ अंक जम्मा गरेको छ।

जिम्बाबेमा हुने विश्वकप छनोटमा सिधैँ छानिन नेपाल शीर्ष तीनमा रहनु पर्नेछ। त्यसैगरी एकदिवसीय मान्यता जोगाउन शीर्ष पाँचमा रहन आवश्यक छ। नेपालले अब ११ एकदिवसीय खेल्न बाँकी रहँदा मुख्य प्रशिक्षक मोन्टी देशाईका लागि शीर्ष पाँचमा रहनु मुख्य लक्ष्य हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू