रासस/काठमाडौं – नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११ औँ स्थानमा उक्लिएका हुन् ।
एकसाता अघि प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ । प्रिन्सले प्राप्त गरेका बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।
दुई साताअघि उनी विश्व बरियताको ३२ औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो ।