वीरगञ्ज – पर्साको वीरगञ्ज कारागारका ६ जना कैदीबन्दी सहित थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार नारायणी अस्पतालका थप एक चिकित्सक र नेपाल आर्मीका एक जवानमा पनि कोरोना संक्रमण देखिएको छ ।
२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला उनले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।
अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङमा भेटिएका र क्वारेन्टाइनमा बसेकाहरू हुन् । संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । संक्रमित कैदीहरूलाई राख्न कारागार परिसरको समता स्कुलमा आइसोलेसन वार्ड बनाउन थालिएको छ ।
कारागारका कर्मचारी र त्यहाँ कार्यरत प्रहरीमा पनि संक्रमण देखिएको छ । पर्सामा कोरोना संक्रमितको संख्या बढेसँगै व्यवस्थापनमा समस्या भइरहेको छ ।
यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।