मध्यबिन्दु/काठमाडौं – कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानमा रहेका १७५ नेपालीलाई काठमाडौं ल्याइएको छ । वुहानबाट उडेको विमान आज बिहान ३.३८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । शनिबार दिउँसो नेपाली सेनाका ४ डाक्टरसहित १७ जनाको टोली वुहान गएको थियो ।
त्यहाँबाट १८५ नेपालीको ल्याउने तयारी भए पनि अन्तिम समयमा १७५ जनालाई मात्र नेपाल फिर्ता ल्याइएको हो । त्यहाँ रहेका १८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका र ६ जनामा ज्वरो देखिएकाले नेपाल नल्याइएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार तथा दुई–दुई जना पर्यटक र बालबालिका रहेका छन् ।
विमानस्थलबाट उनीहरुलाई पाँच ओटा गाडीमा राखेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगिएको छ । उनीहरुलाई त्यहाँ १५ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । चालक दलका सदस्यलाई भने नगरकोटमा राखिएको छ । क्वारेन्टाइन स्थलमा २५ स्वास्थ्यकर्मी खटाइएको छ ।
वुहानबाट उद्धार गरी ल्याइएका सबैको आज आइतबार नै नमुना परीक्षण गरिने छ । उनीहरुको रगत र र्यालको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । रिपोर्ट आउन दुई दिन लाग्ने बताइएको छ ।