काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने भएको छ। यसअघि विदेशमा श्रमिकको ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिँदै आएकोमा सो रकम बढाएर दश लाख पुर्याइएको हो।
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयका सहसचिव राजीव पाखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि भएको बताए। “विदेशमा कामदारको मृत्यु भएकामा परिवारलाई दिने रकम १० लाख पु¥याइनेछ,” पोखरेलले भने।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने, विभिन्न देशमा मनोसामाजिक परामर्श एवं स्वास्थ्य परीक्षण क्याम्पमार्फत सेवा प्रवाह गरिने, ठगी नियन्त्रणमा अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षाकोषको सेवा विस्तार गरिने पोखरेलले बताए।
वैदेशिक रोजगारमा पठाउनुको विकल्प नभएकाले यसलाई व्यवस्थित गरिने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए। “वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन। यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ,” उनले भने।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। “विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ,” उनले भने।