काठमाडौं – छिमेकी मुलुक चीनबाट स्थलमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानीनाका आइपुगेको १८ हजार अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभएर व्यवसायीले ब्यापारिक प्रयोजनको लागी ल्याएको खुलासा भएको छ ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाका अनुसार व्यापारिक प्रयोजनको लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याएको जानकारी दिए।
तर यसलाई अनुदानमा दिएको सिलिण्डर सरकारले छिट्टै ल्याएको भनी सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले प्रचार गरेका थिए ।
उपप्रधानमन्त्री ईश्वर पाखेरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले फेसबुकमार्फत चीन सरकारले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुगेको भन्दै प्रचार गरेका थिए । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार बनाएका थिए ।
शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको शेर्पाले बताए ।
व्यसायिक प्रयोजनका लागि ल्याएको सिलिण्डर ७५ सय खासामा आइपुगिसकेको शेर्पाले जानकारी दिए । तीमध्ये सोमबार २५ सय थान अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्नेछन् । दैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ ।
तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएको छ ।