व्यासको पुनः मतगणना स्थगित गर्न आदेश

17

काठमाडौं – तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्नू भन्ने उच्च अदालत पोखराको फैसलालाई सोही अदालतको अर्को आदेशले तत्कालका लागि स्थगित गरेको  छ ।

यही असार २ गते बिहान १० बजेदेखि गणना गर्ने फैसला भएकोमा नगरपालिकाका प्रमुख वैकुण्ठराज न्यौपानेले सर्वोच्च अदालतमा दिनुभएको निवेदनलाई ध्यानमा राखी सो आदेश भएको हो ।

नगरप्रमुख न्यौपानेले दिएको पुनरावेदनपत्रको पेसी आगामी असार २ गते आइतबार नै तोकिएकाले सो पुनरावेदन पत्रउपर टुङ्गो नलागेसम्म हाललाई मतगणनाको कार्यलाई स्थगित गर्ने आदेश भएको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

नगरप्रमुखका प्रत्याशी दीपकराज जोशीले पुनः मतगणना हुनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा दिएको निवेदनउपर गत जेठ १ गते अदालतले पुनः मतगणना गर्न आदेश दिएको थियो तर सो आदेशविरुद्ध नगरप्रमुख न्यौपाने सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतमा पुनरावेदनपत्र दर्ता भई सो मुद्दा पेसीमा चढिसकेको अवस्था भएको हुँदा सर्वोच्चबाट पुनरावेदनपत्रको अन्तिम निर्णय नभएसम्म यस फैसला कार्यान्वयन गर्न मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २३१ को उपदफा (ख) मा उल्लेख भएबमोजिम सर्वोच्च वा यसै अदालतबाट अर्को आदेश नआएसम्म हाललाई मतगणना कार्य स्थगित गर्ने आदेश सो अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले गरेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू