शंकर पोखरेललाई वर्षमानको प्रश्न, हरुवाले प्रचण्डलाई हरुवा भन्न लाज लागेन ?

171

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी ‘हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले एमाले महासचिव शंकर पोखरेलले आफ्ना भनाइप्रति आपत्ति जनाएका हुन्।

उनले माओवादी नेतृ रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे।

‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको  छैन। १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो’, पुनले भने, ‘शंकरजी अस्ती भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ।’

०७० सालमा देशैभर कांग्रेस र एमालेको पक्षमा उभार भएका बेला पनि पोखरेलले गृहजिल्लामा चुनाव हारेको चर्चा गर्दै पुनले ‘हरुवा’ले लाजै पचाएर अरुलाई हरुवा भन्नु हास्यास्पद भएको कडा टिप्पणी गरे।

कांग्रेस र एमाले मिलेपछि प्रगतिशील र कम्युनिष्ट विचारधाराका दलहरुलाई सकाउन सकिन्छ भन्दै पोखरेलले दुई दलीय व्यवस्थाको वकालत गर्दै हिँडेकामा पनि उनले आपत्ति जनाए। ‘खासमा उहाँ (पोखरेल)ले काँग्रेस–एमालेको दुई दलीय व्यवस्थाको होइन, काँग्रेस–एमाले पुँजीपति वर्गको पार्टी हो भन्न खोज्नुएको हो’, पुनले भने, ‘जनताको पार्टी हाम्रो हो।’

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा एमाले महासचिव पोखरेलले हरुवाहरुले शासन गर्ने व्यवस्थाको अन्त्यका लागि संसदका दुई दल मिलेको अभिव्यक्ति दिएका थिए। ०८४ सम्म आफ्नो दलले सरकार ढाल्ने प्रयास नगर्ने भन्दै पुनले त्यतिबेलासम्म टिकाएर देखाउन कांग्रेस–एमालेलाई चुनौती दिए।

समाचार वर्गहरू