शिक्षकहरुको काठमाडौं केन्द्रित आन्दोलन, शिक्षा ऐन जारी नहुँदासम्म नफर्किने

51
फाइल फोटो

काठमाडौं – देशभरका शिक्षकहरूले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ ।

माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।

आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए।

आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ।

भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।

आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए। काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए ।

समाचार वर्गहरू