शिक्षकहरू १९ दिनदेखि सडकमा, विद्यालय ठप्प,कक्षा १२ को परीक्षा नहुने करिब निश्चित

58

काठमाडौं – विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग गर्दै देशभरका शिक्षक र कर्मचारीहरूले आइतबार १९ औँ दिन पनि जारी राखेका छन्।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनअन्तर्गत आइतबार बिहान ९ देखि १२ बजेसम्म शिक्षकहरूले काठमाडौँको माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरेका हुन्।

उनीहरूले शिक्षा ऐन जारी गर्नुपर्ने, ऐन जारी नभएसम्म सडकबाट फिर्ता नहुनेसहितका विषयमा नाराबाजी गरेका थिए। महासंघले चैत २० गतेदेखि राजधानीमा सडक आन्दोलन गर्दै आएको छ।

शिक्षकहरू आन्दोलनमा रहँदा विगत तीन सातादेखि विद्यालयमा कुनै पनि शैक्षिक गतिविधि हुन पाएका छैनन्। यसैगरी गत चैतमा लिइएको २०८१ सालको एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षाको पर्खाइमा बसेका साढे ५ लाख विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा ११ गतेका लागि तोकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई परीक्षा सञ्चालनमा सहभागी हुन अपिल गरेको छ। यद्यपि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक विन्दुतर्फ रहेकाले सबैलाई सहभागी हुन आग्रह गरे। यसैगरी उनले निजी विद्यालयका शिक्षककलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरेका  छन्।

समाचार वर्गहरू