शिक्षक आन्दोलनको १२ औँ दिन, विद्यालय ठप्प पारेर आन्दोलनमा उत्रन महासंघको आव्हान

122

काठमाडौं – देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राजधानी केन्द्रित आन्दोलन थालेको आइतबार १२ दिन भएको छ। शिक्षकहरू विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनमा उत्रिएका हुन्।

महासंघले सरकारसँग यसअघि पटकपटक भएका सहमति विधेयकमा समेट्नुपर्ने माग पनि राखेको छ। सरकारले वार्तामा बोलाए पनि महासंघले चासो दिएको छैन। शिक्षकहरू ऐन नलिई नजाने अडानमा छन्।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘शिक्षा ऐन नलिई हामी फर्कँदैनौँ।’ उनले आन्दोलनमा सहभागी सबै प्रकारका शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारीलाई पनि ढुक्क हुन आग्रह गरेका छन्।

आइतबार आन्दोलनकै मैदानबाट अध्यक्ष सुवेदीले भने ‘तपाइँहरु आ-आफ्ना क्षेत्रका साथिहरुलाई फोन गरेर बोलाउनुस । आन्दोलनबाट प्राप्त हुने उपलब्धि सबैलाइ बराबर हो । विद्यालयका काम कारबाही सबै ठप्प पारेर आन्दोलनमा उत्रन सबै शिक्षकहरुलाई आव्हान गर्दछु ।’

महासंघले ऐन नलिई नजाने एउटै मागमा अडान राखिरहे पनि तत्काल ऐन जारी हुने सम्भावना छैन। संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकबारे छलफल भइरहेको छ। संसद्को अधिवेशन नरहेका बेला अध्यादेशबाट ऐन ल्याउने सम्भावना देखिँदैन।

शिक्षकहरुको मागलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेपनि कुनै निकास भने निस्कन सकेको छैन। नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि राजधानीमा सडक आन्दोलन थालेको हो।

समाचार वर्गहरू