(दाङ) – कपिलवस्तुको शिवनगरबाट प्रहरीले ५ थान एसएमजी राइफल सहित त्यसमा प्रयोग हुने म्यागजिन र गोली बरामद गरेको छ । दाङ र कपिलवस्तुको सीमा क्षेत्र अन्तर्गत कपिलवस्तुको शिवनगरबाट प्रहरीले सो हतियार बरामद गरेको हो ।
गोठमा लुकाइ राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोली र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीको टोलीले सो हतियार बरामद गरेको हो । नियन्त्रणमा लिइएका हतियार तथा गोली प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको भएको प्रहरीको दाबी छ ।
कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।
चन्द समूहले हतियार गर्दछन् भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो ।
त्यही टोलीले कपिलवस्तुको शिवनगर नगरपालिका १ स्थित एक गोठबाट सुटकेसभित्र राखिएको अवस्थामा ती हातहतियार नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । बरामद हतियार बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।