शिवमायालाई सभामुख नबनाए देशव्यापी आन्दोलन गर्छौः डा. अधिकारी

20

ललितपुर – महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारीले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेमाथि राजनीतिक हिंसा भए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकी छन् । पितृसत्ताका विरुद्ध गरिने यो आन्दोलनमा सिंगो जनताको साथ रहने उनको विश्वास छ ।
अध्यक्ष डा. अधिकारीले सभामुख पद रिक्त भएको तीन महिना भइसक्दा पनि सभामुख चयन नगरेर संसद नै बन्दी बनाइएकोप्रति आपत्ति जनाउदै शिवमायालाई सभामुख हुन नदिने दाउपेच अनुसार यसो भएको बताइन् ।
“सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले मज्जाले संसद हाँकिराख्नुभएको छ । संसद चलाउन न उहाँलाई हिजोका दिनमा समस्या थियो, न आज” अधिकारीले भनिन्, “कुनै पनि कुरामा खोट लगाउन मिल्ने ठाउँ नहुदासमेत उहाँलाई सभामुख हुन नदिनु भनेको त्यो ठाउँमा पुरुष वा अरु कुनै महिला नामका महिला ल्याउन गरिएको खेल हो भन्न गाह्रो छैन ।” उनले योग्यता, क्षमता र अनुभव सबै कुराले योग्य डा. शिवमायाले आफ्नो अडान छोड्न नहुनेमा जोड दिइन् ।
अधिकारीले यति धेरै विशेषता हुँदाहुँदै पनि नेकपाले उहाँलाई सभामुखका लागि योग्य नदेख्नु, सभामुख हुने अवसर नदिनु भनेको पितृसत्तात्मक सोचको उपज हो भनिन् । तीन–तीन महिना संसद सभामुखविहीन हुँदा पनि सभामुख चयन नगर्नु भनेको डा. शिवमायालाई सभामुख हुनै नदिने राजनीतिक चलखेल भएको उनको बुझाइ छ ।
सरकार र राजनीतिक दलहरुलाई संसदलाई अनिर्णयको बन्दी नबनाई चाँडो भन्दा चाँडो सभामुख चयन गर्न उनको आग्रह छ ।
“सभामुखको प्रमुख हकदार उपसभामुख हुँदाहुँदै पुराना या कुनै नयाँ अनुहार, महिलाको एजेण्डा बोक्न नसक्ने नाम मात्रैका महिला सभामुखमा ल्याउनु भनेको उहाँमाथिको राजनीतिक हिंसा हो” डा. अधिकारीको चेतावनी छ, “उहाँमाथि राजनीतिक हिंसा हुँदा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल चुप लागेर बस्नेवाला छैन । न्याय, समानता र पितृसत्ताका विरुद्ध हामी देशव्यापी आन्दोलन गर्न बाध्य हुनेछौं ।”

 

महिला खबरबाट

समाचार वर्गहरू