शीर्ष नेताकै सम्पत्ति छानबिन गरि सुशासन स्थापना गर्ने छौ :काग्रेस उपसभापति शर्मा

11

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पहिला शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु हुने बताएका छन् । शनिबार गुल्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले पहिला सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर शासनको सुधारको थालनी गरिने बताएका हुन् ।

‘भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ,’ उपसभापति शर्माले भने, ‘मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ ।’

उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाए । ‘नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ’, उनले भने ।

कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्‍याउन मतदातालाई शर्माले आग्रह गरे ।

‘सिङ्गो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाँक्ने क्षमता कांग्रेससँग छ’, उनले भने, ‘जेनजी युवाहरूले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिन्छ ।’

विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने उपसभापति शर्माले बताए ।

समाचार वर्गहरू