(कालिकोट) – जिल्लाको सदरमुकाम मान्म स्थित एकीकृत भवन राखिएका कोरोना संक्रमितलाई खानेपानीको सुविधा नहुँदा शौचालयमा राखिएको पानी खाने गरेको बताएका छन् ।
जिल्लाको शुभकालिका गाँउपालिकाका एक जना २५ वर्षीया युवाले भने, ‘हामीलाई आइसोलेसनमा राख्ने भनेर भेडा हुले जस्तै हलमा हुलेको छ । १८ जना कालिकोट र एक जना बाजुराका गरी १९ जना एउटै हलमा छौँ । बिहान एक घण्टा आएको पानीले १९ जना हामी र पाँच जना स्वास्थ्यकर्मीको टोलीले हातमुख धुने, नुहाउने, पिउने गर्दा पुग्दैन । ट्यांकीमा पानी सकिएपछि हामीलाई पानी कसैले ल्याइदिंदैन । तिर्खा लागेको बेला शौचालयमा राखिएको पानी पिउनुपर्छ ।’
शौचालयमा पनि प्रयाप्त पानी नहुँदा दिशा भरिएको उनले बताए। ‘हामीलाई अहिलेसम्म कुनै समस्या छैन। कोरोना लाग्यो भनेकाले के पो हुन्छ भनेर डर मात्र छ । यहाँ डाक्डर सोधपुछ गर्नै आउँदैनन् । भवनमै राखेका स्वास्थ्यकर्मीहरुले सामान्य सोधपुछ मात्र गर्छन्’।
अर्का कोरोना संक्रमित युवाले आफूलाई परेको समस्या शुभकालिका गाँउपालिका अध्यक्ष खडानन्द चौलागाईलाई फोन गरेर सुनाउँदा जसरी भए पनि त्यहीं बस्नुपर्ने प्रतिक्रिया दिएको बताए । उनले भने, ‘जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका नेता, जनप्रतिनिधि कसैले पनि के छ अवस्था भनेर सोधपुछ नै गर्दैनन् । एम्बुलेन्समा ल्याएर यो हलमा हुलिदिए । कसैले पनि हाम्रो विषयमा चासो दिएनन् ।’
कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी बिरेन्द्र केसीले आइसोलेसनको व्यवस्थापन र बिरामीको मागले हैरान भएको बताए । उनले भने, ‘खानेपानी बिरामी र आफूहरुको ट्यांकी एउटै छ ।स्वास्थ्यकर्मीले लगाउने पिपिई सफा गर्न पनि पानी नपुग्ने उनले बताए । ‘भवनको गेट खुला हुन्छ । सुरक्षाकर्मी टाढा बस्छन् । बिरामी भागे भने कसले जिम्मा लिने ।
प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले तत्काल व्यवस्थापन गरेकाले आइसोलेसनमा देखिएको समस्या समाधान गर्दै जाने बताए । उनले भने, ‘सबै सरोकारवाला निकायसँग छलफल गरी त्यहाँ देखिएका समस्या समाधान गर्छौं । सुरुवातको चरण भएकाले केही व्यवस्थापन गर्न समय लागेको हो । सबै समस्याको समाधान हुन्छ ।’ आइसोलेसनमा बिरामीको अवस्था बुझ्न र उनीहरुलाई परामर्श दिनका लागि डाक्टरहरु पठाउने उनले बताए ।