काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले अनौपचारिक क्षेत्रका श्रमिकको जीवनस्तर उकास्न सबैपक्ष लाग्नुपर्ने बताए ।
शनिबार जिलाफको सहयोगमा ट्रेड युनियन कांग्रेस ललितपुर जिल्ला समितिले आयोजना गरेको जीवन समर्थन गोष्ठीमा यस्तो विचार राखेका हुन् । उनले सबै श्रमिक समस्यामा रहे पनि अनौपचारिक क्षेत्रका श्रमिक अझ बढी समस्यामा रहेकोले उनीहरूको जीवनस्तर उकास्न सकेमात्र समतामूलक समाजको निर्माण हुने ठोकुवा गरे ।
केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बलदेव तामाङले कोभिड-१९ ले लाखौ श्रमिकहरु बेरोजगार भएकोले राज्यले श्रमिक केन्द्रित कार्यक्रम लागु गरी समाजमा व्याप्त आर्थिक खाडललाई सम्याउनु पर्ने बताए ।
जिलाफका नेपाल प्रतिनिधि लक्ष्मण शाहीले कोभिडबाट प्रभावित श्रमिकहरुकालागी जिलाफको सहयोगमा संचालन हुने विभिन्न कार्यक्रमले श्रमिकहरुलाई केही मात्र भए पनि राहत पुग्ने विचार राखेका थिए । कार्यक्रममा कृषि एवं पशु विज्ञ डा. रामकृष्ण खतिवडाले राज्यले नेपाली युवाहरूलाई आधुनिक कृषि व्यवसायमा लाग्न उत्प्रेरित गर्ने नीति कार्यक्रम लागू गर्न सके थुप्रै रोजगारी सृजना हुने बताए।
जीलाफले ट्रेड युनियन कांग्रेसको सहकार्यमा अनौपचारिक क्षेत्रका श्रमिकहरुको क्षमता अभिवृद्धि , शिक्षा एवं विभिन्न रोजगारमुलक तालिमहरु संचालन गर्दै आएको ट्रेड युनियन कांग्रेसका कार्यकारी प्रमुख इन्द्रदेव यादवले जानकारी दिए ।
कार्यक्रममा श्रमिकहरुलाई कोभिड-१९ बारे आस्था विष्ट र जीवन उपयोगी शिक्षाबारे ट्रेड युनियन कांग्रेस , ललितपुरका सचीव महेश्वर खत्रीले तालिम दिएका थिए ।
कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस , ललितपुर जिल्ला अध्यक्ष कमल कुमार विष्टको अध्यक्षतमा सम्पन्न भएकोथियो ।