श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा निर्वाचित

83

काठमाडौं – श्रीलंकाको ९ औँ राष्ट्रपतिमा वामपन्थी दल जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमार दिशानायके निर्वाचित भएका छन्।

पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाबाट अनुरा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

अनुराले ५७ लाख ४० हजार १७९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत प्राप्त गरेका थिए।

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनको इतिहासमा दोस्रो चरणको मतगणना भएको यो पहिलोपटक हो। चुनावको क्रममा मतदातालाई आफ्नो रोजाइअनुसार तीन जना उम्मेदवार छान्न भनिएको थियो।

श्रीलंंकामा निर्वाचन कानुनअनुसार कुनै पनि उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। सन् १९८२ देखि अहिलेसम्म भएका आठ राष्ट्रपति निर्वाचनमा पहिलो चरणकै मतगणनाबाट निर्णय भएको छ। योपालिको चुनावलाई श्रीलंकाको इतिहासमा सबैभन्दा बढी प्रतिस्पर्धात्मक चुनाव भनिएको थियो।

श्रीलंकामा १ करोड ७० लाख मतदाता छन्। श्रीलंकाको राष्ट्रपतिका लागि ३८ जना उम्मेदवार चुनावी प्रतिपस्पर्धामा उत्रिएका थिए।

समाचार वर्गहरू