श्रीलंकालाई पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा

12

(काठमाडौं) – पाकिस्तान १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो सेट ३०-२८ ले गुमाएको पाकिस्तानले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो । पाकिस्तानले दोस्रो सेटमा २५-१८, तेस्रो २५-२० र अन्तिम सेट २५-२१ ले जितेको थियो । जितसँगै पाकिस्तानले समूह ’बी’ बाट २ खेलमा ४ अंक जोड्यो । श्रीलंकाले २ खेलमा २ अंक जोड्यो ।

श्रीलंका उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । माल्दिभ्सलाई हराउँदै श्रीलंकाले अन्तिम चारमा स्थान बनाएको हो । गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

यस समूहबाट दुवै खेल गुमाएको माल्दिभ्स बाहिरिएको छ । अब पाकिस्तानले सेमिफाइनल समूह ’ए’ को उपविजेता बंगलादेशसँग खेल्नेछ । यस्तै श्रीलंकाले समूह ’ए’ को विजेता भारतसँग खेल्नेछ ।

आइतबार पुरुषको सेमिफाइनल खेल हुनेछ । बिहान ११ बजेपछि हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ ।

यस्तै, दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । पुरुष भलिबल तर्फ भने नेपाल समूह चरणबाट बाहिरिसकेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।

समाचार वर्गहरू