संखुवासभामा प्रहरी र चन्द समूहका कार्यकर्ताबीच भिडन्त

20

संखुवासभा – संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार आइतबार दिउँसो ३ बजेदेखि प्रहरी र चन्द समूहका कार्यकर्ताबीच भिडन्त भएको हो । चन्द समूहका जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेत ३ जना मैदानेमा लुकेर बसेका उनीहरुले गस्तीमा रहेका प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार चन्द समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।

प्रहरीले केही राउन्ड गोली चलाएको थियो भने चन्द समूहका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । गोली चलाउँदै चन्द समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्रहरी र चन्द समूहका कार्यकर्ताबीचको भिडन्तपछि उनीहरु जंगल तिर भागेका थिए । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । यसअघि पनि मैदाने भन्ने स्थानमा २ पटक सुरक्षाकर्मी र चन्द समूहका कार्यकर्ताबीच भिडन्त भईसकेको थियो ।

समाचार वर्गहरू