काठमाडौं – संरक्षित वन्यजन्तुको आखेटोपहार सहित ४ जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले फाउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला, २ थान हड्डी र ११ थान दाँत सहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका-४ बस्ने २४ वर्षीय कृष्णराज उपाध्याय, कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ३२ वर्षीय लोकेन्द्र बहादुर मल्ल, गोरखाको गोरखा नगरपालिका-२ बस्ने २० वर्षीय सन्देश बानियाँ र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ बस्ने १९ वर्षीय सुजन बस्नेत छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको भन्ने सूचनाको आधारमा सीआईबीको टोलीले उनीहरुलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।
साथै उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।