संविधान दिवस – टुँडिखेलमा मूल समारोह, दरबारमार्गमा कन्सर्ट

40
फाइल फोटो

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् ।

त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । आजै साँझै राष्ट्रपति पौडेलले शितलनिवासमा स्वागत समारोह आयोजना गरेका छन् ।

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुति हुनेछ । यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

समाचार वर्गहरू