मध्यबिन्दु/काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि कार्यदल बनाएको विषय बाहिरिएकोप्रति असन्तुष्टि जनाएका छन् । आज बुधबार बसेको नेकपा सचिवालय बैठकको सुरुमै उनले कार्यदल गठनको निर्णइ सञ्चारमाध्यममा बाहिरिनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै यसबारे छानबिन हुनुपर्ने बताएका हुन् ।
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्न नेकपाले कार्यदल बनाएको थियो । उक्त सूचना चुहिएपछि दाहाल र उपाध्यक्ष वामदेव गौतमले आपत्ती जनाएका हुन् ।
सचिवालय बैठकको सुरुवातमै दाहाल र गौतमले एकै स्वरले भने, ‘कार्यदल गोप्य राख्ने कुरा भएको थियो । त्यसबारे सबैभन्दा पहिले सूचना बाहिरियो, जुन विडम्बना हो । यसबारे छानबिन हुनुपर्छ । कसले यो सूचना बाहिर दियो, प्रमाणित गर्न सकिन्छ । यसले प्रतिक्रिया राम्रो दिएन ।’
विवादको घेरामा परेपछि नेकपाले माधवकुमार नेपाल संयोजक, सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल भंग गर्ने निर्णय गरेको छ ।