काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई भ्रष्टाचारका विषयमा बोल्न निदइएकाले संसद्मा अर्धनग्न भएर विरोध जनाएको बताएका छन्। ‘मैले भ्रष्टाचारको कुरा उठाउन खोजेको थिएँ। तर बोल्न दिइएन,’ सिंहले भने, ‘यो विरोधको स्वरूप हो। मैले विरोधस्वरूप कपडा खोलेको हुँ।’
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कपडा उतारेपछि सभामुख देवराज घिमिरेले कारबाहीको चेतावनी दिएका थिए। संसद्मा अमर्यादित व्यवहार देखाएको भन्दै सांसद सिंहको सदनमा पनि आलोचना हुन थालेको छ।
सिंहले भने, ‘सांसदले बोल्न नपाउनु भनेको अर्धनग्न संसद् हो’, संसद्बाट बाहिर आएपछि उनले भने, ‘संसद्मा बसेर जनताको आवाज उठाउन सकिनँ भने के अर्थ रह्यो र?’
सांसद सिंहले आफू पूरै नागिंएको नभई अर्धनग्न भएकाले कसैप्रति अममान र अमर्यादित व्यवहार नदेखाएको दाबी गरे। उनले भने, ‘म राजनीतिको विद्यार्थी हुँ। चार पटक सांसद भएको छु। मर्यादाबारे मलाई थाहा छ।’ उनले आफ्नो मानसिक सन्तुलन ठिक नभएको भनेर ‘गणतन्त्रका पम्फादेवी’ का केही झोलेहरूले आरोप लगाएको भनाइ राखे।
उनले आफूले सभामुखलाई जानकारी गराएरै अर्धनग्न भएको जानकारी दिए।उनले भने, ‘मैले संसद् सुरु हुनुअघि नै यसबारे जानकारी गराएको थिएँ।’ उनले आफूले दुई मिनेट समय नपाउँदा विरोधको पराकाष्ठामा पुगेको दाबी पनि गरे। उनले भने, ‘म बिचौलियातन्त्रको विरुद्ध उभिएको छु। भ्रष्टाचारका विषयमा सदन पछि हट्न मिल्दैन।’
सभामुखको चेतावनीपछि उनले लुगा लगाएका थिए।त्यसपछी संसद्को नियमित गतिविधि सुरु भएको थियो भने सांसद सिंह बाहिरिएका थिए।