संसदीय समितिले सरकारको निगरानीमात्रै गर्छ, नियन्त्रण गर्दैनः सभामुख

20

काठमाडौं, साझा खवर संवाददाता – सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामको निगरानीमात्रै गर्ने बताएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा सोमबार भएको अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले समितिले सरकारलाई नियन्त्रण नगर्ने बताएका हुन् । उनले भने, ‘संसदले समितिमार्फत सरकारले आफ्नो ट्र्याक छाड्छ कि भनेर निगरानीमात्रै गर्ने हो ।’

सभामुख महराले सरकारले ‘रेस्पोन्स’ गरेको अवस्थामा संसदका काम कारबाही झनै प्रभावकारी हुने बताए । संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको आवश्यकता औंल्याए ।

सभामुख महराले संसद नियमावलीअनुसार चल्नु नै संसदीय प्रक्रियाको असल अभ्यास हुने बताउँदै सांसदहरु आफ्नो जिम्मेवारी र दायित्वप्रति सजग हुनुपर्नेमा जोड दिए । उनले सांसदहरु कानून निर्माणका लागि मात्रै चुनावबाट आएपनि निर्वाचनमा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि विकास निर्माणसँग जोडिएको उल्लेख गरे ।

मन्त्रीहरुसँग प्रश्नोत्तरको कार्यक्रमलाई निरन्तरता दिए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम अहिलेसम्म एकपटक मात्रै गर्न सकिएको उनले बताए ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले संसदीय अभ्यासलाई विगतभन्दा प्रभावकारी बनाउन संसदले रणनीतिक कार्ययोजना नै बनाएको बताईन । उनले भनिन्, ‘कार्ययोजनामा सांसदहरुको क्षमता अभिवृद्धिदेखि संसदीय अभ्यास प्रभावकारी बनाउने भन्ने पनि छ ।’ उनले सांसदहरुलाई आफ्नो कार्यकालमा संसद प्रभावकारी भएको महसुस दिलाउने गरी काम गर्न आग्रह गरिन् ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संसदमा प्रस्तुत हुँदा सांसदहरुलाई प्राविधिक विषयहरु पनि ध्यान दिन सुझाव दिईन ।

समाचार वर्गहरू