संसद् छलेर सरकारले अध्ययादेश ल्याएपछि विपक्षी संसदीय दलको बैठक बस्दै

8

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका छन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने छ । मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो ।

लगत्तै प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् ।

उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्म मिच्न र उपेक्षा गर्न कुनै हालतमा नदिन प्रतिपक्ष प्रतिबद्ध रहेको चेतावनी दिए । दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याएपछि उनले सरकारलाई सोधेका छन्, आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? सरकारले दुई अध्यादेश ल्याएपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कडा शब्दमा विरोध जनाएका छन् ।

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो । तर, सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिएनन् ।

समाचार वर्गहरू