संसद् भवनमा पत्रकारलाई रोक्नुपर्ने कारण नै छैन, सभामुख घिमिरे

11

काठमाडौं – सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरूलाई सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका छन् ।

सोमबार संसदीय मामिला पत्रकार समाजसँग आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहज रूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताएका हुन् ।

उनले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरू सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताए। पत्रकारहरूलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने बताउँदै सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिँदै पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरूलाई अन्त्य गर्नुपर्ने बताए । उनले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रूपमा विकास गर्नुपर्ने बताए ।

उनले भने, ‘‘पत्रकारहरूले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा सङ्गठित गर्छ । सङ्गठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरूको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अङ्गकै रूपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसद्को तर्फबाट के गर्नुपर्ला ? पत्रकारहरूको तर्फबाट के गर्नुपर्ला ? हाम्रो साझा दायित्व हो ।’’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू