काठमाडौँ – प्रतिनिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको एकमुष्ट सुनुवाइ सर्वोच्च अदालतमा जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबारदेखि निरन्तर सुनुवाइ जारी राखेको छ। ६ दिनसम्म गरिएको सुनवाइका क्रममा १३ वटा मध्ये ५ वटा निवेदनको सुनुवाइ सकिएको छ।
शुक्रबार अधिवक्ता सालिकराम सापकोटाले दायर गरेको पाँचौ नम्बरको रिट निवेदनसम्मको सुनुवाइ सकिएको हो। विषय वस्तु केन्द्रित बहसका क्रममा ३४ जना वकिलहरुले धारणा राखेका छन्।
बिहीबार र शुक्रबार ९/९ जना कानुन व्यवसायीले निवेदकको पक्षमा बोलेका छन्। उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले त्यसलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने जिकिर गरे। सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार विघटनको पक्ष विपक्षमा बहस गर्न तीन सयभन्दा भढी वकिलहरुले वकालत नामा लेखाएका छन्।
केही वकिलहरुले चारवटासम्म निवेदनमा बहस गर्न वकालत नामा पेश गरेका छन्। बुधबारसम्म बहसको समय सीमा नतोकिए पनि त्यसपछि भने एक जना वकिलका लागि बढीमा ३० मिनेटको समय निर्धारण गरिएको छ।
यही गतिमा सुनुवाइ अघि बढे माघ महिनाभर लाग्न सक्ने सर्वोच्चका अधिकारी बताउँछन्।