काठमाण्डौं – आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव गरेको छ । यसमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको हो ।
स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीहरुले संयुक्त रुपमा भर्चुअल बैठकबाट उचाइ सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो ।
सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो ।
सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोेसेसिङ गरेका थिए । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ । उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभई परम्परागत प्रविधि पनि प्रयोग गरिएको विभागका एक कर्मचारीले बताए ।