काठमाडौं – लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आइतबारबाट सञ्चालनमा आएको छ ।
नेपाली र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आइतबारबाट चिनियाँ सामग्री आउन सुरु भएको हो ।
पहिलो दिन आइतबार कपडा र कच्चा पदार्थ लगायतका ११ वटा कन्टेनर नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
चिनियाँ पक्षले ती सामान मितेरी पुलमा अनलोड गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले दिए । सोमबार ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ ।
भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ । कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।