काठमाडौं – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी तालमेलसहित मैदानमा उत्रिएका सत्ता गठबन्धन आबद्ध चार दलले चुनावी अपिल साझा तर घोषणापत्र अलगअलग बनाउने भएका छन् ।
सत्ता गठबन्धनले गठबन्धन आबद्ध दलको चुनावी अपिल बनाउनका लागि गठबन्धन आबद्ध चार दलबाट एक÷एक जना सदस्य रहने गरी समिति बनाएको छ । यस्तै, चारै दलले आआफ्नै घोषणापत्रसमेत तयार गर्दै छन् ।
साझा अपिल बनाउन समितिमा नेपाली कांग्रेसबाट प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी सदस्य छन् ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र तयार गरिरहेको छ । समितिमा कांग्रेस पदाधिकारी र केही केन्द्रीय सदस्य तथा अन्य विषय विज्ञसमेत छन् । कांग्रेसले सबै वर्ग, समुदाय, उमेर समूह र भूगोलको विविधतालाई केन्द्रमा राख्ने भन्दै घोषणापत्रका लागि देशभरबाट सुझाव लिएको थियो ।
यसैगरी, कांग्रेसले घोषणापत्रमा विगतमा प्रतिनिधिसभा विघटन भएको विषय र संविधानको कार्यान्वयनका विषयलाई पनि उठाउँदै छ भने आर्थिक समृद्धि घोषणापत्रमा कांग्रेसले प्राथमिकतामा राख्दै छ ।
यसैगरी, माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । उसले पछिल्ला परिवर्तनपछिको उपलब्धि र संविधानको रक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनतालाई घोषणापत्रमा अघि सार्दै छ ।
गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले उपमहासचिव गंगालाल तुलाधरको नेतृत्वमा घोषणापत्र बनाउँदै छ । सो दलले निर्वाचनका लागि ‘जनताको सुख, शान्ति र समृद्धिको सरोकार – लोकतन्त्रको स्थिरता र विकास समाजवादको आधार’ नारा दिएर घोषणापत्र तयार गरिरहेको छ ।
सत्ता गठबन्धन आबद्ध अर्को दल राष्ट्रिय जनमोर्चाले मनोज भट्टको नेतृत्वमा घोषणापत्र बनाउँदै छ ।