काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।
आइतबार संघीय संसद् भवनपरिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए।
सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसदमा फेरि पनि कुरा उठाउने बताए। सांसद खतिवडाले संसदमा उठेका सबै विषयमा छलफल गर्न संसद् स्वतन्त्र हुुनुपर्ने बताए।
उनले भने, ‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ। एकछिन जुरुक्क उठेर संसद्तिर घेर्न पुग्छ। किन भन्दा जलहरीको सुन हरायो रे। ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ। महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ। त्योबारेमा छलफल गर्नै छ। हामीलाई चिन्ता के हो भने दश किलो पशुपतिनाथ संसारकै देउताको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेलाई अरू देशलाई के गर्लान् ?’
सांसद खतिवडाले भने ‘बदमासीको छानबिन गर हामीले भनेको हो । त्योभन्दा उहाँहरू फेरि संसद् घेर्न जानुहुन्छ। भोलिपल्ट कसले कुटाई खायो, संसद् घेर्न जानुहुन्छ । तर टिक्न सक्नु हुन्न। त्यसकारण संसद्लाई अनिर्णयको बन्दीजस्तो बनाउन खोज्नुभयो। भैँसी–राँगाको कुरा गर्ने स्थल, जलहरीको कुरा नगर्ने स्थल बनाउन खोज्नुहुन्छ। यसमा हाम्रो विरोध छ।’