काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ।
आइतबार र बुधबारको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।
बुधबार सरकारी वकिल र पीडित पक्षका निजी गरी १० वकिलले बहस गरेका थिए। अधिवक्ता मुरारी सापकोटाले बहस गर्दागर्दै समय सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
बिहीबार सापकोटाले आफ्नो बहस सकेपछि सन्दीपका कानुन व्यवसायीले बहस गर्नेछन्।
प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि जाहेरवालातर्फबाट पुन: जवाफी बहस हुनेछ। त्यसपछि मात्रै अदालतबाट फैसला आउनेछ।
पटक-पटक पेशी स्थगित हुँदै आएको मुद्दा यसपटक भने अन्तिम सुनुवाइ हुँदैछ।
गत वर्ष भदौमा गौशालाको एक होटलमा नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा सन्दीप पक्राउ परेका थिए।