सन् २०२० का सम्भावित विश्वघटना

18

जीवन भण्डारी/काठमाडौं – नयाँ वर्ष सन् २०२० लागेसँगै यस वर्ष केही सम्भावित विश्व घटनाका बारेमा चर्चा शुरु भएको छ । अघिल्लो वर्ष शुरुभएका कतिपय घटना यस वर्ष टुंगो लाग्नुपर्ने अवस्थामा छन् भने कतिपय घटनाहरु यस वर्ष दिर्घकालीन महत्व र अन्तर्राष्ट्रिय चर्चामा समेत रहने देखिन्छ । यस वर्ष हुनसक्ने केही सम्भावित विश्वचर्चित घटनाक्रमहरु यहाँ चर्चा गरिएको छ ।

१) ब्रेजिक्टको टुंगो लाग्ने
लामो समयदेखि चर्चा र विवादमा रहेको ब्रेजिक्टको यस वर्ष टुंगो लाग्ने भएको छ । हालै गठन भएको नयाँ सरकारले यही जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरहेको छ । बेलायत युरोपेली संघ (ईयू)बाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा विवाद र अन्यौल भइरहेका बेला गत वर्ष भएको निर्वाचनमा बाहिर निस्किने पक्षले जनादेशसहितको बहुमत पाएपछि अहिलेको सरकार ब्रेजिक्टको लागि गृहकार्यमा जुटेको छ । तत्कालिन प्रधानमन्त्री थेरेसा मेले बहुमत गुमाएपछि अन्तरिम प्रधानमन्त्री हँुदै नयाँ निर्वाचित प्रधानमन्त्री बनेका बोरिस जोनसनले आफ्नो कन्जरभेटिभ्स पार्टीका सबै सांसदहरुबाट धोका नपाएमा ब्रेजिक्टको टुंगो लाग्ने छ ।

२) ट्रम्प विरुद्धको महाभियोगको फैसला हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तल्लो सदनबाट पारित भएको महाअभियोगको प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने भएको छ । सिनेटबाट पनि महाअभियोग प्रस्ताव पारित भएमा ट्रम्पको पद गुम्नेछ । ट्रम्पविरुद्धको महाभियोगका लागि दुई तिहाई (६७ जना) सिनेटर आवश्यक पर्दछ । सिनेटका एक सय सिटमध्ये रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र २ स्वतन्त्र सिनेटर छन् । त्यसैले महाअभियोग प्रस्ताव पारित हुने संभावना भने निकै कम छ । तल्लो सदनमा भएको मतदानका क्रममा सबै सांसदले पार्टीको लाइनअनुसार नै मतदान गरेकाले माथिल्लो सदनमा पनि त्यस्तै भएमा ट्रम्प महाअभियोग लाग्नबाट बच्नेछन् ।
यसको अन्तिम किनारा लाग्नेगरी मतदान यही जनवरी महिनामा हुने अपेक्षा गरिएपनि तय भने भइसकेको छैन । तल्लो सदन हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरुद्ध गरेको भन्दै महाभियोगको पक्षमा मतदान गरेको हो ।

३) अमेरिका र उत्तर कोरियाबीच वार्ता हुनसक्ने
नाटकीय तरिकाले कहिले सम्बन्ध सुध्रेजस्तो हुने र कहिले कठोर शत्रु जस्ता देखिने उत्तर कोरिया र अमेरिकाको सम्बन्ध सर्वाधिक चासोको केन्द्रमा रहने गरेको छ । कुनै बेला एक अर्कालाई प्रमुख दुश्मन मान्ने यी देशहरुले विश्वलाई नै चकित पार्दै सन् २०१८ मा पहिलो पटक र सन् २०१९ मा दुई ओटा शिखर बैठक गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिखर बैठक यस वर्ष पनि हुने अपेक्षा गरिएको छ ।

४) मुसर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसलाको विषयले यस वर्ष पनि चर्चा पाउने देखिन्छ । अदालतको फैसलाप्रति धेरैतिरबाट नकारात्मक टिप्पणी भएको र देशकै सेनाले समेत असन्तुष्टी जनाएको यो विषयले सन् २०२० मा नयाँ मोड लिनसक्ने देखिएको छ । यस फैसलाका विरुद्धमा उनले अपिल गर्ने चर्चा शुरु भइसकेको छ । अर्काे अदालतले यस विषयमा के फैसला गर्छ भन्ने विषयलाई विशेष महत्व दिइएको छ ।

५) अमेरिकी राष्ट्रपतिय निर्वाचन
विश्वकै सर्वा्धिक चर्चामा रहने अमेरिकी राष्ट्रपतिको निर्वाचन यही वर्षको नोभेम्बर ३ मा हुदैछ । अघिल्लो वर्षदेखि नै नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचनको प्रचार प्रसार सुरु भइसकेको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल दोहोर्याउन गत जुनमा चुनाव प्रचार प्रसार अभियानको औपचारिक घोषणा गर्नु भएको थियो । आगामी चार वर्षका लागि हुने निर्वाचनमा उम्मेदवार बन्ने अन्य प्रतिश्पर्धीहरुको चर्चा पनि सुरु भइसकेको छ । राष्ट्रपतिको निर्वाचन अगाडि पार्टीको तर्फबाट उम्मेदवार छनौट गर्न आन्तरिक निर्वाचन हुनेछ । ट्रम्पका विरुद्धमा डेमोक्र्याट पार्टीको तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडनको सम्भावना बढी रहेको बताउने गरिएको छ । ट्रम्पको अनौठो नेतृत्व शैली, विवदहरुको शृङ्खला, विभाजनकारी मानिने नीतिलागयतका कारणले प्रतिश्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

६) प्रधानमन्त्रीमा महिन्दा यथावत वा बहिर्गमन
अनेक राजनीतिक घटनाक्रममका कारण गत वर्ष चर्चै चर्चामा रहेको श्रीलंकामा यस वर्ष संसदीय निर्वाचन हुँदैछ । गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व रक्षा सचिव गोटावाय राजापक्षे निर्वाचित भएपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको छ । त्यसैले पनि श्रीलंकामा अब हुने संसदीय निर्वाचनलाई महत्व र उत्सुकताका साथ हेरिएको छ । नवनिर्वाचत राष्ट्रपति राजपाक्षेले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेकाले आउदो संसदीय निर्वाचनले महिन्दाको पद जोगाउछ या खोस्छ भन्ने विषयको निर्धारण हुनेछ । श्रीलंकामा आगामी डिसेम्बर १ अगावै संसदीय निर्वाचन गरिसक्नुपर्ने अवस्था रहेको छ ।

७) ओलम्पिक र वर्ल्ड कपहरु
सन् २०२० मा हुने विश्वव्यापी खेलका तालिका बनिसकेको छ । सर्वाधिक चासोका साथ हेरिने समर ओलम्पिक यही जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुँदैछ । २०६ देश सहभागी हुने अपेक्षा गरिएको प्रतियोगितामा अहिलेसम्म १३९ देशका नेशनल ओलम्पीक कमिटिहरु सहभागी हुन योग्य ठहरिएका छन् ।प्रतियोगितामा ३३ खेलमा ३३९ इभेन्टस् हुने तय भएको छ । समर ओलम्पिक हरेक चार वर्षमा हुने गर्दछ ।

त्यसैगरी क्रिकेटतर्फका दुई ओटा वल्र्ड कप हुँदै छ । अन्डर १९ क्रिकेट वल्र्डकप दक्षिण अफ्रिकामा यही जनवरी १७ देखि फेब्रुअरी ९ सम्म हुने तय भएको छ । प्रतियोगितामा १६ समूह सहभागी हुने छन् भने ४८ खेल हुनेछ । यो प्रतियोगिता हरेक दुई दुई वर्षमा हुने गर्छ ।

यो वर्ष क्रिकेटतर्फ आइसिसि वुमन्स टी २० वल्र्ड कप पनि हुँदै छ । यही फेब्रुअरी २१ देखि मार्च ८ सम्म अष्ट्रेलियामा हुने प्रतियोगितामा १० टोली सहभागी हुने र २३ खेल हुने जनाइएको छ । यो प्रतियोगिता पनि प्रत्येक दुई दुई वर्षमा हुने गर्छ ।

८) विभिन्न देशमा आम निर्वाचन
सन् २०२० मा विश्वका धेरै देशमा आम निर्वाचन हुने भएका छन् । कुनै देशले नयाँ राष्ट्रपति पाउने छ भने कतिपय देशमा संसदीय निर्वाचन हुन लागेको छ । विषेश गरी अफ्रिकाका बुरुण्डी, मध्य अफ्रिका, ताजकिस्तान, युरोपको बेलारुस, ग्रीक, पोल्याण्ड, दक्षिण अमेरिकाको बोलिभिया लगायतका देशमा सन् २०२० मा राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ ।
त्यसैगरी बुरुण्डी, इजिप्ट, सोमालिया, जोर्डन, किर्गिस्तान, मंगोलिया, म्यानमार, सिंगापुर, श्रीलंका, अजरबैजान, क्रोएसिया, जर्जिया, लिथुआनिया, रोमानिया, सर्विया, स्लोभाकिया, पेरु, भेनेजुएला, ईरान, ईजरायल, सिरिया लगायतका देशमा संसदीय निर्वाचन हुने तय भइसकेको छ ।

रासस

समाचार वर्गहरू