काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढेसकाल लागे पनि आफ्नो काँधमा फेरि नयाँ क्रान्ति थाल्ने अभिभारा आइपरेको बताएका छन्।
‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत पोखरामा शनिबार आयोजित जनसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बैतडीदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान कास्कीसम्म आइपुग्दा सिंगो देश २०६४ सालमा झैँ माओवादीमय बनेको पनि दाबी गरे।
माओवादी अध्यक्ष प्रचण्डले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय पनि दोहो¥याए। आफूहरुले यस विषयमा पहिले पनि जोड दिएकोमा कांग्रेस र एमालेको असहयोगका कारण त्यसमा अल्झिएर बस्दा संविधानै नबन्ने र देश झन् ठूलो भुमरीमा जाने देखेर पछि हटेको स्मरण गर्दै अब जनताका बीचमा यो कुरा लगेर संविधान संशोधन गरेरै अघि बढ्ने बताए।
उनले कांग्रेस, एमालेबाट विकासको सम्भावना नै नभएको टिप्पणीसमेत गरे। आर्थिक गतिविधि बढाउन आफूहरुले नै मध्यपहाडी लोकमार्ग र हुलाकी लोकमार्ग निर्माण थालनी गरेको उनको दाबी थियो।
गत २ जेठदेखि सुरु भएको माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान कास्कीबाट टुंगिएको छ। जनजागरण अभियानका क्रममा जनताबाट आएका सल्लाह, सुझाव, माग सरकारसमक्ष बुझाउने उनल बताए।
सभालाई माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, नेत्र अधिकारी, गायत्री गुरुङ, दिनेश खनाल लगायतले सम्बोधन गरेका थिए।
माओवादीले यसअघि गत फागुनदेखि तराई–मधेश जनजागरण अभियान गरेको थियो। जुन झापाको कचनकवलबाट सुरु भइ हुलाकी राजमार्ग हुँदै कञ्चनपुर पुगेको थियो।