सबै क्षेत्रलाई सबल बनाउन सके समृद्धि सम्भव : मन्त्री नेम्वाङ

25

(पाँचथर) –  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सबल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन् । गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अध्यारोमुक्त घोषणा कार्यक्रममा उनले सबै क्षेत्रलाई सबल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका हुन् ।

मुलुकका सबै क्षेत्रहरुलाई सवल र समयानुकूल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाई छ । सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङले बताए ।

मन्त्री नेम्वाङले ठूला पूर्वाधारका आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रबाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास गरिरहेको बताए । “सल्लाको दीयालो बाल्नुपर्ने अवस्थाको अन्त्य भयो । अब विदेशबाट आयातीत ग्यासबाट खाना पकाउनुपर्ने, दाउराबाट खाना पकाउनेपर्ने अवस्थाको पनि अन्त्य गर्छौँ”, उनले भने, “अब आफ्नै पानीबाट उत्पादित विद्युत चुलाचौकामा पु¥याई त्यसैबाट खाना पकाउने प्रवन्ध सरकारले गर्छ ।”

मन्त्री नेम्वाङले देशका ४० वटा जिल्लामा पूर्ण विद्युतिकरण गर्ने योजना चालू आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए । सोही कार्यक्रम अन्तर्गत पाँचथरमा चालू आर्थिक वर्षमा सरकारले करीब १ अर्ब ५० करोड बजेट विद्युतिकरणका लागि छुट्ट्याएको मन्त्री नेम्वाङले बताए ।

उनले अबको १÷२ वर्षमै पाँचथर जिल्लालाई अध्यारोमुक्त जिल्ला निर्माण गर्ने कार्यमा जुट्न आग्रह गरे । आफूले विद्युतिकरणका लागि जिल्लामा निरन्तर अगुवाई गरेको र जिल्लाका वडा तथा स्थानीय तहहरु क्रमशः अध्याँरोमुक्त घोषणा हुँदा आफूलाई सबैभन्दा खुसी मिलेको मन्त्री नेम्वाङले बताए ।

फरक प्रसङ्गमा मन्त्री नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न ७ वटा राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणको कार्यलाई द्रूत गतिमा अघि बढाउन आफूले निरन्तर अनुगमनको कार्य गर्दै आएको बताए । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सहित पूर्वी पहाडका विशेष महत्वका तमोर कोरिडोर सडक, मदन भण्डारी सडक, राँके–रबी–भेडेटार सडक, पाथीभरा मन्दिर ताप्लेजुङ सडक निर्माणलाई समेत आफूले विशेष चासो दिएको उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले मन्त्री नेम्वाङकै अगुवाईमा जिल्लामा विद्युतिकरणको सुरुआत भएको बताए । विभिन्न वडाहरुलाई अध्याँरोमुक्त वडा बनाउने कार्य अघि बढ्नु सुखद् संयोग रहेको उनले बताए ।

हिलिहाङ गाउँपालिका वडा नं. १ र २ का करीब १ हजार २ सय घरमा विद्युतिकरणको कार्य पूरा भई वडाहरुलाई अध्याँरोमुक्त वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष भूवानीप्रसाद लिङदेनले जानकारी दिए । यी वडाहरुमा कुल ८ करोड ८० लाख ६० हजारको लागतमा विद्युतिकरणको कार्य पूरा भएको हो ।

विद्युतिकरणका लागि नेपाल विद्युत प्राधिकरण फिदिम वितरण केन्द्रले १२ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग, नेपाल विद्युत प्राधिकरण इलाम कार्यालयबाट २० लाख, काबेली कोरिडोर परियोजनाबाट २ करोड ८० लाख, काबेली ए जलविद्युत परियोजनाबाट ७६ लाख, हिलिहाङ गाउँपालिकाबाट ७४ लाख, अरुण काबेली जलविद्युत आयोजनाबाट ३ लाख ६० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणको सामुदायिक विद्युतिकरण कार्यक्रमबाट २ करोड ९२ लाख र उपभोक्ताहरुबाट सङ्कलित ३२ लाख ५० हजार रकम प्राप्त भएको हिलिहाङ गाउँपालिका वडा नं. १ वडाध्यक्ष गोपिकृष्ण भण्डारीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिङदेनका अनुसार हिलिहाङ गाउँपालिकाको वडा नं. १, २, ५ र ६ मा विद्युतिकरणको कार्य पूरा भएको छ भने वडा नं. ३, ४ र ७ मा विद्युतिकरणको कार्य धमाधम अघि बढिरहेको छ । आगामी छ महिनाभित्र विद्युतिकरणको काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष लिङदेनले जानकारी दिए ।

समाचार वर्गहरू