(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान सहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।
किरात समुदायको पर्व उधौली तथा नेवार समुदायले मनाउने यःमरि पुन्हीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेकपा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको उनले बताए ।
दाहालले जारी गरेको शुभकाना सन्देशमा भनिएको, ‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हन् । सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’
अध्यक्ष दाहालले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष दाहालले विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको उल्लेख गरेका छन् । दाहालले यस पर्वले नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकासका साथै किरात नेवार समुदायमा सुख, समृद्धि, शान्ति र प्रगतिको कामना गरेका छन् ।