‘सभापतिज्यू, हामी एमालेभन्दा धेरै बलियो भएका छौं’ – महामन्त्री शर्मा

23

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चर्चामा आएजस्तो एमाले बलियो नभएको बताएका छन् ।

सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै महामन्त्री शर्माले सभापतिको बोली सच्याउन आग्रह गर्दै एमाले बलियो छ भन्ने कुरा गलत भएको दाबी गरे ।

‘सभापतिज्यू, एमाले बलियो छ भनेर हजुरले भन्नुभएको कुरा सुनिएको छ; यथार्थ त्यस्तो छैन । हामी एमालेभन्दा कमजोर होइन; धेरै बलियो भएका छौँ,’ बैठकमा शर्माले भनेको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

प्रवक्ता शर्माले हाल तथ्यांक र राजनीतिक रुपमा समेत एमाले कांग्रेसभन्दा बलियो नरहेको दाबी गरे । ‘अहिले न तथ्यमा एमाले अघि छ, न राजनीतिकरुपमा एमाले बलियो छ । अहिले ओलीमात्रैको एमाले हो । एमाले पार्टी जसरी खण्डहर बनेको छ, सत्तामा बस्दा त्यसैगरि खुइलिएको छ । त्यसैले हामीले एमाले बलियो भएर होइन; हामी थप बलियो बन्न गठबन्धन गर्ने हो ।’

महामन्त्री शर्माले गठबन्धन गर्नैपर्छ भन्ने वा गर्नै नहुने भन्ने भन्दा पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने कुरालाई ध्यान दिएर गठबन्धन गर्नुपर्ने बताए । ‘कांग्रेसलाई थप बलियो बनाउन गठबन्धन गर्ने हो; त्यो भनेको हामीले जितिरहेको क्षेत्र गुमाउनका लागि होइन; थप जित्नका लागि हो।’

समाचार वर्गहरू