(काठमाडौं) – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको कार्यसमितिको बैठक आज बस्दैछ । बैठक अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकले प्रतिनिधिसभाको सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाउने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरिहेको स्रोतले जनाएको छ । संसद् सचिवालयले मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखमा उम्मेदवारी दर्ताको समय तोकेको छ ।
कांग्रेसले सत्तारुढ नेकपाले उपसभामुख दिएमा सभामुखमा उम्मेदवारी नदिने नत्र उम्मेदवारी दिने बताएको छ । यही माघ १२ गते हुने सभामुखको मतदानका लागि सत्तारुढ र प्रतिपक्षी दलबीच आन्तरिक छलफल भइरहेको छ । बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गर्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले सरकार सत्तारुढको र संसद् विपक्षीको भएकाले सभामुख र उपसभामुखमध्ये एउटा आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ । संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भएकाले नेकपाले एक पद छोड्नै पर्ने बाध्यता छ ।