काठमाडौं – सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गराउन प्रदेश सभा सचिवालयमा गएका तीन सांसद कुटिएका छन् । एक दर्जन सांसद एक घण्टा थुनिएका छन् ।
प्रस्ताव दर्ता गराउन उपसभामुखको कार्यकक्षमा पुगेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपा उपनेता उपेन्द्र महतो र जसपा सांसद राजु गुप्तामाथि हातपात भएको हो ।
नेता यादवले आफूहरूलाई सभामुख मण्डलका समर्थकहरूले हातपात गरेको जानकारी दिए । पछि प्रहरीले सांसदहरूलाई जोगाएर छुट्टै कोठामा राखेका थिए । करिब एक घण्टापछि मात्रै सांसदहरूलाई बाहिर निकाल्न प्रहरी सफल भएको थियो ।
लोसपा सांसद महतोले आफूहरूलाई उपसभामुखको कार्यकक्षमा एक घण्टा बन्धक बनाइएको बताए । सांसदहरू जनमतका महेशप्रसाद यादव र चन्द्रन सिंह, माओवादीका भरतप्रसाद साह, लोसपाका जयनुल राइन, उपेन्द्र महतो र रानी शर्मा तिवारी, जसपाका राजु गुप्ता, कांग्रेसका जंगीलाल राय यादवसहित उपसभामुखको कार्यकक्षमा झन्डै एक घण्टा थुनिएका थिए ।
उनीहरूलाई मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमको कमान्डमा गएको प्रहरी टोलीले बाहिर निकालेको थियो ।