सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेतवार्ता

20

(काठमाडौं) – नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको शिष्टाचार भेटमा राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेस (संसद) का अध्यक्ष ली झान्सुले पठाएको लिखित बधाई तथा शुभकामना सन्देश सभामुख सापकोटालाई प्रदान गरिन् ।

सभामुखले शुभकामनाका लागि धन्यवाद दिंदै नेपाल र चीनबीचको सरकार–सरकार, जनस्तर र संसदबीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । विगतमा पनि नेपालको संसद र चिनियाँ जनकंग्रेसका बीचमा सम्बन्ध रहीआएको प्रसंग उल्लेख गर्दैै दुबै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै बिस्तार गर्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रणमा लिन राष्ट्रपति सी जिनफिङ सहित चीन सरकारले गरेको प्रयासको सराहना गर्दै नेपाल पनि यस सन्दर्भमा चीनको साथमा रहेको बताए ।

नेपाल चीन संसदीय मैत्री समूहको नेतृत्व नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नै नेतृत्व गर्नुले पनि दुई देशका संसदबीचको सम्बन्ध प्रगाढ रहेको सन्देश दिएको उनले बताए । आगामी मार्चमा हुन गइरहेको चिनियाँ जनकंग्रेसको संयुक्त सम्मेलनको सफलताका लागि शुभकामना दिए । राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो दिईन ।

राजदूतले यान्छीले दुई देशका संसदको बीचमा सम्बन्ध बिस्तार गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कोरोना भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने कुरामा कमी आउन नदिन र नेपाल भ्रमण वर्षलाई असर पर्न नदिन चीन सरकार सचेत रहेको राजदूत हउ यान्छीले बताईन् ।

सभामुख अग्निप्रसाद सापकोटाले उपयुक्त समयमा चीनको भ्रमण गर्ने जवाफ दिएको उनको सचिवालयले जनाएको छ ।

समाचार वर्गहरू